सुदूरपश्चिमका सभामुखलाई कांग्रेसको चेतावनी- ‘भोलि महँगो पर्नेछ’

सुदूरपश्चिमका सभामुखलाई कांग्रेसको चेतावनी- ‘भोलि महँगो पर्नेछ’


ग्लोब नेपाल
648
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएपछि नेपाली कांग्रेसले विरोध जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा बसेपछि आज आह्वान गरेको प्रदेश सभाको बैठक भोलि बिहीबार १ बजेको लागि तोकिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान गरिएको बैठक मुख्यमन्त्रीको इशारामा सभामुख भीमबहादुर भण्डारीले सारेको भन्दै विरोध जनाएको हो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले आफ्नो कुर्सी बचाउन मनलाग्दी गरेको आरोप लगाएका छन् ।

बैठक नै एकदिन सार्ने हल्ला भएपछि आफूले सभामुखलाई फोन गरेर नसार्न भनी सचेत समेत गराएको बताउँदै नेता शाहले आउँदो दिनमा सभामुखलाई महंगो पर्ने समेत चेतावनी दिए । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने निश्चित नभएपछि उनकै आग्रहमा बैठक स्थगित भएको हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अब उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानमा छ ।

नागरिक उन्मुक्ति पार्टीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताए । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । प्रदेशसभामा सत्ता पक्षीय नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना प्रदेश सभा सदस्य छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।