काठमाडौं । भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपालीभाषीलाई बिदेशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ । जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।
सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिएका छन् ।
हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘बिदेशी’ भनिएको थियो । सो फैसलामा सुनाइएको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो । काउन्सिलको गरेको आजको बन्द आह्वानलाई स्थानीयले पनि पुर्ण समर्थन गरेका छन् ।
यस अघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो । तर आज भने सिक्किम पुरै ठप्पको अवस्थामा छ । सिक्किममा भईरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन ।
प्रतिक्रिया