काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरेकी छिन् । टेलिफोन कुरा गर्दै त्यहाँ गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गरेकी हुन् ।
बुधबार दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाइन् । टेलिफोन वार्तामा परराष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रह समेत गरिन् ।
नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।
टर्कीका विदेशमन्त्री मेबलुट चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले सहयोगका लागि नेपाल सरकारलाई समेत धन्यवाद व्यक्त गरे ।
नेपालले टर्कीमा राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।
सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो भने त्यसपछि पनि बारम्बार परकम्प गइरहेको छ ।
प्रतिक्रिया