सुदूरपश्चिम सरकारमा भूकम्प गयो : नाउपा

सुदूरपश्चिम सरकारमा भूकम्प गयो : नाउपा

हामी पश्चिमी थारु हौँ, मधेसी दल जस्तो शरणमा पर्न जानेवाला छैनौँ


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भूकम्प मात्र गएको प्रतिक्रिया दिएको छ । सरकार गठन भएको ३० दिन नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार ढलेको हो ।

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले प्रदेश सरकारमा भूकम्प गएको र यसले कति असर गर्छ भन्ने हेर्न बाँकी रहेकाे बताएका छन् । पार्टीका संरक्षक रहेका रेशम चौधरीको निगरानीमा डिल्लीबजारस्थित केन्द्रीय कारागारमै उनले आफूहरु शरणमा नपर्ने बताए । उनले भने, ‘हामीलाई मधेसी दलजस्तो ठानेका होलान् । हामी पश्चिमी थारु हौँ । हामी मधेसी दलले जस्तो शरणमा परेर जानेवाला छैनौँ ।’

कांग्रेसलाई सरकार बनाउन बाटो खुल्ला

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनकाे सरकार ढलेसँगै कांग्रेसलाई प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले सरकार बनाउन बाटो खुल्ला भएकाे छ ।

एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि रावल सरकार ढलेको हो ।

५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख सहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा रहे ।

विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादका ४ र १ स्वतन्त्र सदस्य छन् । रावलले राजीनामा दिएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसले सरकार बनाउने छ ।