आईसीसी विश्वकप लिग टू : यूएईद्वारा नेपाललाई २०८ को लक्ष्य

आईसीसी विश्वकप लिग टू : यूएईद्वारा नेपाललाई २०८ को लक्ष्य



काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपाललाई घरेलु टोली यूएईले जितको लागि २ सय ८ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा विकेट गुमाएर २ सय ७ रन बनायो ।

यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे । रोहन मुस्ताफले ७५ बलमा अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुँदा ओपनर मुहम्मद वासिमलाई शुन्य रनमा पहिलो ओभरमा नै आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । करण केसी, कुशल मल्ल र आरिफ शेखको नाममा समान १-१ विकेट रह्यो ।

पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए ।

उनले दोस्रो विकेटका लागि भृत्य अरभिन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे । नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।

श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका सन्दीप बुधबार यूएई गएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध डेब्यु गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा खेलेका थिए ।

यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग ४३ रनको साझेदारी गरे । २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याच आउट गराए ।

आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे । आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए । त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे । मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै यूएईको स्कोर २०० पुर्‍याएका थिए ।

सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए । मुस्ताफाले अन्तिमसम्म खेल्दै ७६ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा यूएईका दुई खेलाडी रनआउट भए ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।