आईसीसी विश्वकप लिग–२ : नेपालकाे फितलाे ब्याटिङले यूएईसँग ६८ रनले पराजित

आईसीसी विश्वकप लिग–२ : नेपालकाे फितलाे ब्याटिङले यूएईसँग ६८ रनले पराजित



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा नेपाल घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो । यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५ ओभरमा कमजोर ब्याटिङका कारण सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो ।

नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट गुमाएको हो। नेपालका शीर्ष ६ मध्ये तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमा आउट भएका हुन् ।

कुशल मल्लले सर्वाधिक ६० रन जोडे । विकेटकिपर आसिफ शेखले १७ रन बनाए । कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामीले ४/४ रन जोडे। सन्दीप लामिछाने २६ रनमा अविजित रहे । नेपालले १७ रन जोड्दा ३ विकेट गुमाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै करण केसी, आसिरफ शेख र कुशल मल्लले एक–एक विकेट लिए ।

नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो। विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ ।