आसिफको शतकमा पीएनजीलाई २९८ रनको लक्ष्य

आसिफको शतकमा पीएनजीलाई २९८ रनको लक्ष्य



काठमाडौं । आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई २९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो ।

गत वर्ष नेपालले पीएनजीविरुद्ध नै २ सय ७८ रन बनाएको थियो । यो नै नेपालले पहिलो ईनिङमा बनाएको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । उनले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका हुन् । अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । यि दुई बीच १ सय १० रनको साझेदारी भएको थियो ।

भीम सार्की ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाए । आरिफ शेख १५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले ११ रन बनाए । करण केसीले ८ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।

यसै खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।

यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।आसिफले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा ८ अर्धशतक प्रहार गरेका छन् ।

सेप्टेम्बर ७, २०२१ मा उनले नेपालका लागि डेब्यु गरेका थिए । पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट लिए । पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरुआत गर्न चाहन्छ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जित नतिजा निकाल्नु पर्ने हुन्छ ।

पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।