युएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य

युएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य

आसिफ खानको कीर्तिमानी शतक



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका हुन् ।

कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजबंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १-१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।

लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बावेको टिकट काट्नेछ ।

यता समान खेलबाट ३३ अंक जोडेको युएई छैटौं स्थानमा छ । लिग टू मा स्कटल्याण्ड शिर्ष स्थानमा रहदै र ओमान दोस्रो स्थानमा रहदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहान्छ । यदी आजको खेलमा पराजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।