रविको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुग्यो

रविको राहदानी प्रकरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुग्यो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी विवादबारेको अनुसन्धान प्रहरीले सकाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । सरकारी वकिल कार्यालयले अहिले फाइलको अनुसन्धान गरिरहेको छ ।

नागरिकता विवादमा फसेका लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो । त्यसपछि विवाद अदालतमा पुगेको थियो ।

सर्वोच्चले नागरिकता विवादमा माघ १३ गते गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो । संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको थियो । त्यससँगै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए ।

अधिवक्ता युवराज सफलले लामिछाने विरुद्ध उजुरी दिएका थिए । सरकारी वकिल कार्यालयमा पुगेको अनुसन्धान फाइल चित्त नबुझेको खण्डमा कार्यालयले पुनः प्रहरीलाई पठाउन पनि सक्नेछ । यदि अनुसन्धान चित्त बुझेको खण्डमा मात्र अदालतमा मुद्दा दर्ता हुनेछ ।