मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाख विस्थापित

मलावीमा चक्रवात फ्रेडीबाट ४४७ जनाको मृत्यु, साढे तीन लाख विस्थापित



ब्लान्टायर (मलावी) । दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट चार सय ४७ जनाको मृत्यु भएको छभने तीन लाख ६२ हजार नौ सय २८ जना विस्थापित भएका छन् । आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ । राजधानीका धेरै घर पहिरामा पुरिएका छन् । आँधी प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन् ।

मालवीको विपद् व्यवस्थापन विभागका अनुसार चक्रवातमा परी नौ सय १८ जना घाइते भएका छन्भने दुई सय ८२ जना हराइरहेका छन् । देशको सुरक्षा बल, प्रहरी र उद्धारकर्मीको टोलीले खोज तथा उद्धारलाई जारी राखेका छन् । सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा हवाई सेवामार्फत राहत सामग्री, औषधिका साथै उद्धारकर्मी पुर्‍याइएको छ ।

चक्रवातबाट अधिक प्रभावित जोम्बा र माचिन्गाको भ्रमणपछि शनिबार साँझ टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै मलावीका राष्ट्रपति लाजरस चकवेराले पीडितहरूलाई सघाउन आफूले आग्रह गरेपछि केही विदेशी नियोग, सरकार, स्थानीय एवम् अन्तरराष्ट्रिय संस्था, कम्पनी र व्यक्तिले सक्दो सहयोग गरेका बताए । साथै उहाँले सबै दाताप्रति आभार पनि व्यक्त गर्नुभयो । चक्रवात प्रभावित क्षेत्रको अवस्था भयावह रहेको उल्लेख गर्दै उनले थप सहायताका निम्ति अपिल पनि गरे ।

चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ । बाढीपहिरोको जोखिम बढेको जनाउँदै रक्षा मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ ।

यसैबीच, मलावीको शिक्षा मन्त्रालयले यो महिनाको अन्त्यसम्म विद्यालय बन्द गर्ने घोषणा गरेको छ । विस्थापित परिवारलाई विद्यालयमा व्यवस्थापन गरिएकाले पठनपाठन स्थगन गरिएको उक्त मन्त्रालयले जनाएको छ ।