काठमाडौं । मिचेल स्टार्कले पाँच विकेट लिनुका साथै मिचेल मार्श र ट्रभिस हेडले अर्धशतक बनाएपछि अस्ट्रेलियाले आइतबार भारतविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० विकेटको विजय हासिल गरेको छ ।
स्टार्कले पाँच विकेट लिएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले २६ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो । मार्श र हेडले अर्धशतक बनाएपछि ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमा विना विकेट क्षति पूरा गरेको हो ।
जितसँगै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत पाँच विकेटले विजयी भएको थियो । त्यसअघि चार खेलको टेस्ट शृङ्खलामा भारत २–१ ले विजयी भएको थियो ।
११८ रनको लक्ष्य पूरा गर्नेक्रममा अस्ट्रेलियाका मार्शले अविजित ६६ रन बनाए भने हेडले ५१ रन जोडे । मार्शले ३६ बलमा ६ छक्का र ६ चौकासहित अविजित ६६ रन बनाए । हेडले ३० बलमा १० चौका प्रहार गर्दै अविजित ५१ रन बनाएका हुन् ।
त्यसअघि स्टार्कले आठ ओभरमा एक मेडनसहित ५३ रन दिएर पाँच विकेट लिएपछि भारतका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । भारतका लागि विराट कोहलीले सबैभन्दा धेरै ३१, अक्सर पटेलले अविजित २९, रविन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १३ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका स्टार्कबाहेक सेन एबोटले तीन र नाथन इलिसले दुई विकेट लिए । अस्ट्रेलिया र भारतबीचको तेस्रो तथा अन्तिम खेल चेन्नईमा बुधबार हुनेछ ।
प्रतिक्रिया