रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने मन्त्रिपरिषदको निर्णय

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।

यसै सम्बन्धमा हिजो (आइतबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।