नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम ९२ करोडमा झर्‍यो

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम ९२ करोडमा झर्‍यो



काठमाडौं । साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंक (०.८८ प्रतिशत) ले गिरावट हुँदा १८७१.८८ अंकमा बन्द भएको छ । व्यापार उपसूचक बढेपनि बजारलाई लिड गर्ने बैंकिङ सहित अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक १.२१ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा, लघुवित्त, विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले घटेको हो ।

घट्दो बजारमा कारोबार रकम पनि घटेको छ । गत सातको अन्तिम दुई दिन १ अर्ब तल झरेको कारोबार रकम आइतबार बढेर १ अर्ब २० करोड नाघेको थियो । तर, सोमबार बजारमा कारोबार रकम घटेर पुनः ९२ करोड २ लाख रुपैयाँमा झरेको छ । २७ हजार ४५४ वटा कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड ६३ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको २ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।