थ्री स्टारसँग १–० ले आर्मी पराजित

थ्री स्टारसँग १–० ले आर्मी पराजित



काठमाडौं । अजयी मार्टिन्सको निर्णायक गोलप्रेरित थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० को नतिजामा पराजित गरेको छ । च्यासल रंगशालामा भएको खेलको पहिलो हाफमा हाबी बनेको थ्री स्टारले सिजनको तेस्रो जित निकाल्यो ।

विभागीय टिमविरुद्ध निरन्तर दबाब बनाएको थ्री स्टारका मार्टिन्सले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। कप्तान विक्रम लामाले दिएको लामो पासमा मार्टिन्सले आर्मीका डिफेन्डरलाई सहजै बिट् गर्दै वान् भर्सेज वानको मौका बनाएका थिए ।

थ्री स्टारका अजयी मार्टिन्सले छैटौं मिनेटमा पेनाल्टी एरिया भित्र मिलाइदिएको बलमा लाकेन लिम्बुले गरेको प्रहार फ्रेममा परेको थिएन ।

नवौं मिनेटमा मार्टिन्सले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा आर्मीका टेक बहादुर बुढाथोकीबाधक बनेका थिए । सुरुआती १० मिनेटसम्म थ्री स्टारले विभागीय टिममाथि निरन्तर आक्रमणको मौका बनाएको थियो ।

थ्री स्टारका योगेश गुरुङले १०औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको सशक्त प्रहार आर्मीका गोलकिपर समित श्रेष्ठले रोकेका थिए ।

आर्मीका विकाश खवासले ५२औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको लामो प्रहार फ्रेममा परेको थिएन। दिनेश हेन्जले ५६औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

थ्री स्टारका मार्टिन्सले ६३औं मिनेटमा ६ यार्ड बक्स अगाडिबाट प्रहार गरेको भली क्रसबारमाथिबाट बाहिरिएको थियो । आर्मीका दिनेशले ६६औं मिनेटमा पेनाल्टी एरियाको बायाँतर्फबाट प्रहार गरेको फ्रि–किक क्रसबारमा लागेर फर्किँदा आर्मी दुर्भाग्यशाली साबित भयो ।

त्यसको चार मिनेट नबित्दै दिनेशले नै प्रहार गरेको अर्को फ्रि–किकमा थ्री स्टारका गोलकिपर ताहा मोहमद बिट् भइसकेका थिए। तर, पिटर सेगुनले क्लिबयर गरेसँगै थ्री स्टारले खतरा टारेको थियो ।

आर्मीको जारी सिजन यो तेस्रो हार हो । जितसँगै थ्री स्टार ६ खेलबाट ९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट आठ अंक जोडेको आर्मी आठौं स्थानमा छ ।