सन्दीपको मुद्दामा डाक्टर र आलमको बकपत्र लिन आदेश

सन्दीपको मुद्दामा डाक्टर र आलमको बकपत्र लिन आदेश



काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ । सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश भएको अदालत स्रोतले जानकारी दियाे ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

यसैगरी, यसअघि साहब आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन् । आजको सुनवाइ यत्तिमै सकिएकाे हाे ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।