मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश नि:शुल्क

मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश नि:शुल्क



काठमाडौं । वैशाख पहिलो सातादेखि नेपालमा हुने एसीसी प्रिमियर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने नेपालको खेल हेर्न दर्शकले नि:शुल्क प्रवेश पाउने भएका छन् ।

वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको छ । जसअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलहरूमध्ये नेपालको खेलमा दर्शकहरूलाई खेल हेर्नका लागि कुनै शुल्क नलिइने नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

नेपालबाहेक अन्य टिमको खेलमा पनि मूलपानीमा नि:शुल्क प्रवेश दिने भन्ने कुरा उठेपनि यसबारे निर्णय भइसकेको छैन ।

पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । प्रिमियर कपको समूह ‘बी’ मा हङकङ, युनाइटेड अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र सिंगापुर छन् ।

नेपालले प्रतियोगिताका तीन खेल त्रिवि क्रिकेट मैदानमा र एक खेल मूलपानी क्रिकेट मैदानमा खेल्ने तालिका सार्वजनिक भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले मलेसियाविरुद्ध वैशाख ११ गते खेल्ने तालिका छ ।