म्यानमारको सागिङ क्षेत्रमा सेनाको हवाई आक्रमण, ५३ जनाको ज्यान गयो

म्यानमारको सागिङ क्षेत्रमा सेनाको हवाई आक्रमण, ५३ जनाको ज्यान गयो



एजेन्सी । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो ।

आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन ।

सन् २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरूविरुद्ध हवाई आक्रमण गरिरहेको छ । सागिङका समुदायले म्यानमारमा सैन्य शासनको चर्को विरोध गर्दै आएको छ । उनीहरूले छुट्टै फौज बनाएका छन् । साथै आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् ।

म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको ज्यान गइसकेकाे छ भने १४ लाख मानिस विस्थापित भएका छन् । अहिले म्यानमारकाे झन्डै एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक रहेकाे राष्ट्र सङ्घले बताएकाे छ ।