विमान चार्टर गरेर एक सय ८० चिनियाँ पर्यटक भित्रिए नेपाल

विमान चार्टर गरेर एक सय ८० चिनियाँ पर्यटक भित्रिए नेपाल


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा नेपाल विग माउन्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो ।

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे ।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्व सन्ध्यामा पहिलो पटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताए । ‘पाहुना भनेको भगवान् हुन्, हामी भगवानकाे रूपमा सधैँ विदेशी पाहुनाको स्वागत गर्दछौँ,’ उनले भने ।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एसियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत थप पर्यटन प्रवर्द्धन गर्न चाहन्छौँ,’ मन्त्री किराँतीले भने ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको बताउँदै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत प्रत्यक्ष जोड्न चाहेको बताए । मन्त्री किराँतीले नेपालका कतिपय सहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे ।

मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रूपमा नेपालले मनाउन चाहेको बताए ।

नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए । ‘चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुसी लागेको छ,’ राजदूत सङले भने । उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनले भनाइ थियो ।

नेपाल विग माउन्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्य सूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुसी व्यक्त गरे । उनले आगामी महिना झण्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए । पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्य स्थल रहेको सन्देश दिनु जरुरी रहेको बताए ।

एक साताका लागि नेपाल आएको चिनिया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुन हिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए ।