इरान आईएईएसँगको समस्या समाधान गर्न कटिबद्ध

इरान आईएईएसँगको समस्या समाधान गर्न कटिबद्ध



तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरान अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सम्बन्धमा रहेका समस्या समाधान गर्न गम्भीर रहेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ । नासेर कनानीले तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा इरानी आणविक साइटहरूमा ‘आईएईए निगरानी क्यामेराहरू पुनः स्थापना’ गर्ने बारे सोधिएका प्रश्नहरूको जवाफ दिँदै सो टिप्पणी गरेका हुन् ।

स्थापना एजेन्सीसँग पहिले भएका सम्झौताको ढाँचा भित्रै रहेको भन्दै कनानीले इरानले मार्चको शुरुमा आईएईएका महानिर्देशक राफेल ग्रोसीको तेहरान भ्रमणको क्रममा सहमति भएको रोडम्यापमा अगाडि बढिरहेको बताएका हुन् । इरानले देशको शान्तिपूर्ण आणविक गतिविधिहरू विरुद्ध केही आधारहीन मिडिया दावीहरूलाई इन्कार गरेका छन् ।

आईएईएले बुधबार इरानी आणविक साइटहरूमा निगरानी क्यामेराहरू पुनः स्थापना गरिरहेको उल्लेख गरेको थियो । आईएईएका बोर्ड अफ गभर्नर्सले नोभेम्बरमा इरानलाई ‘तीन अघोषित’ इरानी साइटहरूमा फेला परेको ‘युरेनियम ट्रेसहरू’ बारे एजेन्सीका अन्वेषकहरूसँग सहकार्य गर्न आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यसैगरी मार्चमा ग्रोसीको तेहरान भ्रमणका क्रममा दुई पक्षहरू इरानको सहयोग र आईएईएको निरीक्षणमा अझ बढी खुलापनमा आधारित थप अन्तरक्रिया अगाडि बढाउन सहमतिमा पुगेका थिए ।