काठमाडौं । नेपाली कांग्रेसका केही नेताका श्रीमतीका कारण स्वदेशमा मात्र होइन, विदेशमा समेत कांग्रेस पार्टीको बद्नाम भएको छ । यतिबेला स्वदेशमा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणका कारण बद्नाम भएको छ भने विदेशमा परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउद पत्नी जोत्सना साउदले सुविधा भोगमा देखाएको हर्कतका कारण बद्नाम भएको हाे ।
कांग्रेस केन्द्रीय सदस्य तथा सांसद मञ्जु खाँणका कारण पूर्वगृहमन्त्री बालकृष्ण खाँण यतिबेला प्रहरी हिरासतमा पुगेका छन् । अर्की केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवाका कारण पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अप्ठ्यारोमा परेका छन् । कांग्रेस सांसदद्वय मन्जु र आरजु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको आरोप लागेको छ । यो प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको विषय भएकाले तत्काल टिप्पणी गर्दा हतार हुन्छ ।
उता, विद्यार्थी राजनीतिबाट उदाएकी तथा मन्त्री पत्नी जोत्सना साउद नसम्हालिदा परराष्ट्रमन्त्री एनपी साउद विदेशमा रहेका नेपालीमाँझ लज्जित भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै बेलायतका राजा चाल्र्सको राज्यभिषेकमा गएका परराष्ट्र मन्त्री साउद पत्नी जोत्सनाले गैरआवासीय नेपाली संघको एउटा कार्यक्रममा देखाएको हर्कतले धेरै नेपालीलाई लज्जित बनायो ।
चेक रिपब्लिकमा गैरआवासीय नेपाली संघ यूरोप च्याप्टरको कार्यक्रम राखियो । मन्त्री साउद उक्त कार्यक्रमको समापनमा सहभागी हुने तय भएको थियो, तर निश्चित गरिएको थिएन । आउने निश्चित नभएकाले मन्त्रीका लागि भनेर ग्राण्ड इन्टरनेशनल होटलको ग्राउन्ड फ्लोरमा बेग्लै कोठा बुक गरिएको थियो ।
शनिबार अबेला मन्त्री साउद पत्नीसहित राजधानी प्राग पुगे । होटलको कोठामा पु¥याएपछि मन्त्री साउदकी पत्नी जोत्सना ब्रुरुक्कै उफ्रिन थालिन् । यस्तो कोठामा बस्न सकिँदैन, रोयल सुइट रुम चाहिन्छ भनेर आयोजकलाई तथानाम गाली गर्न थालिन् । तत्काल आयोजकले रोयल सुइट रुम खोज्ने प्रयास नगरेका होइनन्, तर ढिला भइसकेको र अन्य होटलमा पनि बुक भइसकेकाले मन्त्रीपत्नीले भनेजस्तो कोठा पाउन सकेनन् ।
आयोजकले समस्याबारे बताएपछि मन्त्री पत्नी जोत्सना झन् आगो भइन् । रोयल सुइटमा राख्न नसक्नेले मन्त्री किन बोलाएको भन्दै आयोजकलाई झपार्न थालेपछि लफडाले ठूलै रुप लिन थाल्यो । नेपाली जनसम्पर्क समिति युरोपका कार्यकर्ताले मन्त्री साउदलाई पत्नी सम्झाउन आग्रह गरेका थिए । तर, जोत्सनाले एक शब्द पनि बोल्ने होइन, सबै म हेन्डल गर्छु भनेपछि मन्त्री साउद चुपचाप बस्न बाध्य भए ।
विवाद बढ्दै गएपछि रात छिप्पियो, होटलका भान्सा र बार बन्द भइसकेको थियो । उनीहरुका लागि खानेकुरा केही भएन । त्यसपछि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्यलगायतको टोलीले दुवैलाई गाडीमा राखेर पिज्जा हाउसतिर लग्यो । पिज्जा खाएर आएपछि उनीहरु त्यही होटलको कोठामा सुते ।
होटलमा रोयल सुइट रुम पाइनँ भनेर मन्त्रीपत्नीले गरेको लफडाले एनआरएन यूरोप च्याप्टरको भोलिपल्टको कार्यक्रमसमेत प्रभावित भयो । सुबिधा भोगी मन्त्रीपत्नीको सामन्ती प्रवृत्तिको त्यहाँ चर्चा मात्र भएन, नेताका पत्नीहरुले कांग्रेस पार्टी कसरी डुबाउँदै छन् भन्ने चर्चा अहिले सर्वत्र छ ।
प्रतिक्रिया