सगरमाथाको आरोहणसँगै यती ग्रुपका अध्यक्ष शेर्पाको सेभेन समिट पूरा

सगरमाथाको आरोहणसँगै यती ग्रुपका अध्यक्ष शेर्पाको सेभेन समिट पूरा



काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी तथा यती ग्रुपका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्वक आरोहण गरेका छन् ।

ल्हाक्पा सोनाम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला तथा राष्ट्रिय विभुति स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् । स्व. पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि आज (०३ जेष्ठ, २०८०) बुधबार बिहान ७ बजेर ३४ मिनेटमा ल्हाक्पा सोनाम शेर्पाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेर सेभेन समिट आरोहण पुरा गरेका छन् । विश्वका सातवटा महाद्विपका सातवटा चुचुराको आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ ।

यसअघि शेर्पाले छवटै महादेशका चुचुराहरुको सफलता पूर्वक आरोहण गरीसकेका थिए । उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मी.), अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस (५,६४२ मी.), नोभेम्बर १५, २०१६ मा ओशिनियाको माउन्ट पुनकक र माउन्ट कार्सटेन्ज (४,८८४मी.), जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली (६,१९५ मी.), डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९७ मी.) र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ (६,९६१ मी.) हिमालको आरोहण गरेका छन् ।

६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलता पुर्वक आरोहण सम्पन्न गरेका छन् ।

झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८००० भन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराईसकेका छन् । थामसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा पनि संलग्न छन् । उनले युरोपको माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरी हिमाल र थामसेर्कु हिमालको आरोहण पनि गरिसकेका छन् ।