प्रवेशकाे अध्यक्षतामा झापामा नेपाली युवा उद्यमी मञ्चको स्थापना

प्रवेशकाे अध्यक्षतामा झापामा नेपाली युवा उद्यमी मञ्चको स्थापना



झापा । झापामा नेपाली युवा उद्यमी मञ्चकाे शाखा स्थापना भएको छ । मञ्चकाे अध्यक्षमा प्रवेश बस्नेत चयन भएका छन् ।

बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरेर युवा व्यवसायीहरूको छाता संगठन नेपाली युवा उद्यमी मञ्चको झापा शाखाको स्थापना गरिएकाे हो । बिर्तामोडका युवा व्यवसायी बस्नेतको अध्यक्षतामा ११ सदस्यीय झापा जिल्ला समिति गठन भएको छ ।

नवगठित समितिको प्रथम उपाध्यक्ष डा. रूपेश बेलबासे, दोस्रो उपाध्यक्ष गणेश पौडेल, सचिव आयुष बजगाईं, कोषाध्यक्ष मालास सिलवाल रहेका छन् ।

त्यस्तै, मेम्बरसिप चियर सुरज चौधरी, महिला सशक्तीकरण चियर प्रियंका शर्मा, मिडिया चियर मिजास पोखरेल, इन्टरनेसनल चियर डा. आशिष शर्मा, एलाइन्स चियर निरज प्रसाईं, लर्निङ चियर उत्सव उप्रेती रहेका छन् । झापा शाखामा हाल ३७ जना युवा उद्यमीहरू आबद्ध रहेका छन् ।

सन् २००३ मा स्थापना भएको मञ्चमा देशभरिमा ११ वटा शाखा रहेका छन् । काठमाडौँ, पोखरा, ललितपुर, चितवन, रूपन्देही, सुर्खेत, कैलाली, वीरगञ्ज, जनकपुर, विराटनगर, सुनसरी शाखा यसअघि गठन भइसकेका छन् ।

१२ औँ शाखाको रुपमा झापा शाखा स्थापना भएको हो । मञ्चमा देशभरिबाट आठ सयभन्दा धेरै युवा उद्यमीहरू आबद्ध भइसकेका छन् ।

नेपाली युवा उद्यमी मञ्च सार्क युवा उद्यमी मञ्च र विश्व युवा उद्यमी मञ्चको संस्थापक सदस्य हो । त्यसैगरी, कमनवेल्थ एसिया एलाइन्स अफ योङ एन्टरप्रेनर्सको पर्यवेक्षक सदस्य हो । मञ्च नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रबर्द्धक संस्था भएको जनाइएको छ ।

मञ्चमा आबद्ध हुनको लागि उमेरहद निर्धारण गरिएको छ । २० वर्ष देखि ४० वर्ष उमेर समूहका युवा व्यवसायीहरू मञ्चमा आबद्ध हुन सक्ने प्रावधान रहेको छ ।