विराटनगर । भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको छ ।
कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन् । रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरूले यसको बिनाशर्त नियमितताको माग पनि गरेका छन् । बथनाहाबाट एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको ७ दशमलव ६ किलोमिटर लामो छ ।
विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर केहीबेर अघि कार्गो रेल विराटनगर आइपुगेको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको हो ।
दुवै देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेल सेवाको संयुक्त रूपमा थालनी गरेका हुन् ।
औद्योगिक कच्चा पदार्थ बोकेर रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) आइपुग्दा नेपाली पक्षले भव्य स्वागत गरेको छ ।
प्रतिक्रिया