१६ जिल्लामा फैलियो दादुरा

१६ जिल्लामा फैलियो दादुरा



काठमाडौं । देशका १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । परिवार कल्याण महाशाखाको तथ्यांकानुसार गएको पुसयता शनिबार (हिजो)सम्म काठमाडौंसहित १६ जिल्लाका ९५१ बालबालिका संक्रमित भएका छन् ।

काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी र सुर्खेतमा दादुराको संक्रमण फैलिएको महाशाखाले जानकारी दिएकाे छ ।

यो अवधिमा बाँकेमा मात्र ३२९ बालबालिका संक्रमित भएका छन् । काठमाडौंमा चार, महोत्तरीमा १०५, सर्लाहीमा ७७, बर्दियामा ७३, सुर्खेतमा ६५, कैलालीमा ४७, सुनसरीमा ४१, चितवनमा ४०, कञ्चनपुरमा ३३, मोरङमा ३२, दाङमा २९, धनुषामा २३, कपिलवस्तुमा २३, बाजुरामा १८ र अर्घाखाँचीमा ११ बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ । संक्रमित हुनेमा नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिका छन् ।

काठमाडौंमा भने गोकर्णेश्वर नगरपालिका–९ मा चार बालबालिकामा दादुरा पुष्टि भएको हो । उनीहरू एउटै विद्यालयका विद्यार्थी हुन् ।