काठमाडौं । काठमाडौं उपत्यकामा बाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि उपत्यकाका पहाडमा १ सय ९८ वटा पोखरी बनाइने भएको छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बर्खामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको हाे ।
अहिले उपत्यकाका नदीमा बर्खामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुक्खा हुने समस्या छ । नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको समितिका सूचना अधिकारी कमल अर्यालले बताए । नदी पूर्णरूपमा सुक्खा हुँदा पानी प्रशोधन बहुने र पानी बढ्यो भने पानी प्रशोधित हुँदै जाने बताइएकाे छ ।
गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न ठाउँमा पार्क बनाइने समितिको भनाइ छ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी बर्खामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको छ ।
बाग्मती काेरिडोरमा सन् २००९ देखि सन् २०१४ सम्मका लागि बाग्मती कार्ययोजना बनाइएको थियो । त्यसलाई अध्यावधि गरी सन् २०२३ देखि सन् २०४३ सम्मको कार्ययोजना बनाइएको छ ।
बाग्मती सफा गर्नका लागि ठोसमात्रै फोहर हटाएर नहुने सूचना अधिकारी अर्यालको भनाइ छ । ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छाएर प्रशोधन गरिनुपर्ने उनको धारणा छ ।
बाग्मतीमा ढल निर्माण भए पनि त्यसमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको उनले बताए । बाग्मतीका सहायक र शाखा नदी व्यवस्थित नहुँदासम्म बाग्मती सफा नहुने देखिएको छ ।
समितिले अहिले नदी किनारमा मात्रै ढलको काम गरिरहेको र त्यसभन्दा बाहेकमा अन्य निकायले काम गरिरहेको हँदा आपसी समन्वय हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया