प्युठान स्वर्गद्वारी नजिक कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठान स्वर्गद्वारी नजिक कार दुर्घटना हुँदा ८ जनाको मृत्यु



दाङ । प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए ।

मृत्यु हुनेमा लमही नगरपालिका-५ का कार चालक ताराबहादुर कुमाल, लमही-७ वस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेलको पनि मृत्यु भएको छ ।

१ जना बालकको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएकाे छ ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको थियाे । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ ।