मधेस प्रदेशसभाको आकस्मिक बैठक आह्वान

मधेस प्रदेशसभाको आकस्मिक बैठक आह्वान

विश्वासको मत लिँदै मुख्यमन्त्री



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलवार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशको प्रदेशसभा बैठक अगामी जेठ ३२ गते बस्ने भनिएकोमा आज आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएकाे छ ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । एमालेसहितका दलको समर्थनमा गत पुस २७ गते यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले गत चैत २१ गते मधेस सरकारबाट बाहिरिएको थियो भने जेठ १ गते समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन आकस्मिक बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

त्यसका लागि मङ्गलवार बिहान मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले ३२ गते विश्वासको मत लिइए दिनको हिसाबले कानुनी अड्चन आउन सक्ने भएकाले आजै विश्वासको मत लिने निर्णय गरेको थियो । सोही अनुसार हतारमा बैठक आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर आज साँझ ५ बजे बैठकमा सहभागी हुन सूचित गरेको छ ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।