प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि ८ बजे

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि ८ बजे



कठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाएको छ ।

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज उजुरीकर्ताबाट सातजनाले व्यक्तिगतरूपमा र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका छन् ।

हरिकृष्णलाई भोलि बिहान ८ बजे समितिमा बोलाइएको उनले जानकारी दिए ।

“आज सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा राख्नुभयो । भोलि ८ बजे हरिकृष्ण कार्कीलाई समितिमा कार्ययोजना प्रस्तुत गर्न बोलाएका छौँ,” उनले भने ।

गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की कामु प्रधानन्यायाधीश छन् । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।