बाढीपहिरोका कारण ताप्लेजुङमा ५० करोडको क्षति

बाढीपहिरोका कारण ताप्लेजुङमा ५० करोडको क्षति



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको जानकारी दिएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधानबाट बन्चित हुन पुगेको जानकारी दिए । 

बाढीपहिरोले हेवा खोलाको पुल र तमोर करिडोरको बेलिब्रिज भत्काएसँगै ताप्लेजुङ यातायात सेवाबाट बन्चित भएको जानकारी दिएका उनले मेची राजमार्गको हेवा खोलाको करिब ४६ मिटर पुल बगाउँदा सो राजमार्ग अवरुद्ध हुन पुगेको बताए । 

यीसहित विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणकोको काम थालिने उनले बताए । 

साथै सडक र पुल निर्माण र अवरुद्ध सडक खुलाउने निर्देशन दिइएको उनले बताए ।