सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी-पहिरोमा परी २ को मृत्यु, २८ जना बेपत्ता

सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी-पहिरोमा परी २ को मृत्यु, २८ जना बेपत्ता



काठमाडौं । मनसुन भित्रिएको पूर्वी नेपालमा लगातारको वर्षाले ठुलाे क्षति गरेको छ । सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरेको हाे ।

गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको हो ।

हालसम्म २८ जना बेपत्ता रहेका छन् । सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला सङ्खुवासभा हो । सङ्खुवासभामा २० जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएका छन् ।

यस्तै बाढीले सङ्खुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा क्षति गरेको छ । यस्तै पाँचथर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् ।

बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

त्यसैगरी उता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । बेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभाको धेरै ठाउँमा पुलपुलेसाहरु भत्किएको छ । केही हाइड्रोहरूमा क्षति पुगेको छ । पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुल पूर्ण रूपमा क्षति पुगेको छ । तमोर कोरिडोरमा विभिन्न पुलहरू भत्किएका छन् ।

तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारीहरू तत् ठाउँमा उद्धार कार्यमा लागेकाे प्रहरीले जानकारी दिएकाे छ । नेपाली सेना, सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् । कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था छ । पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको छ । जोखिममा भएका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको बताइएकाे छ ।