पाँचथरकाे बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो

पाँचथरकाे बाढीमा बेपत्ता सबैको पहिचान खुल्यो



पाँचथर । गएराती मुलसधारे बर्षासँगै खोलामा आएको बाढीमा बेपत्ता जिल्लाका सबैको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म पाँच जना सम्पर्कबिहीन बनेका छन् । सम्र्कबिहीन हुनेमा हिलिहाङ–७, का ३३ बर्षीय तिल कुमार तमाङ, फिदिम–११, का २८ बर्षीय सञ्जोग लिम्बू र फिदिम–५, का ५५ बर्षीय राज कुमार राई रहेका छन् ।

त्यस्तै फिदिम–४, माझिटारबाट २८ बर्षीय आशिष माझि र २५ बर्षीया एलिशा माझि पनि सम्पर्कबिहीन बनेका छन् । त्यहाँ रहेको तमोर करिडोर सडकको हेंवाखोलास्थित बेलिब्रिज बगाउँदा आशिष र एलिशा पनि बेपत्ता बनेका प्रहरीले जनाएको छ । फालेलुङ–३, मा पहिरोमा पुरिएका एक बच्चाको भने सकुशल उद्धार गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरुको खोजीकार्य जारी राखेका छन् ।

बाढीले मेची राजमार्ग अन्तर्गत फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना हेंवा खोलाको मोटरेवल पुल, तमोर करिडोर सडक अन्तर्गत फिदिम–४, माझिटारमा रहेको बेलिब्रिज बगाएको छ । त्यस्तै फालेलुङ ३–७ को सिमाना र फालेलुङ ३–५ को सिमानामा रहेका मोटरेवल पुल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ ।

बाढीले याङवरक गाउँपालिका–२, चाम्लिङदोभानस्थित दुई वटा झोलुङ्गे पुल, फालेलुङ ३ र ५ जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ । त्यस्तै फिदिम–४, हेंवखोलामा रेशम कटुवालको २ तले घर र एउटा गोठ, याङवरक–२, का राम प्रसाद राईको १ तले घर, सोहि स्थानका चन्द्र बेघाको २ तेले घर र १ तले मतान, कृष्ण बेघाको १ तले घर र पशुचौपाया बगाएको प्रहरीले जनाएको छ ।