अमेरिकी विदेशमन्त्री बेइजिङमा

अमेरिकी विदेशमन्त्री बेइजिङमा



बेइजिङ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन चीन भ्रमणको क्रममा बेइजिङ पुगेका छन् । उनी विदेशमन्त्रीमा नियुक्त भएपछि यो पहिलो चीन भ्रमण हो । त्यसैगरी पछिल्लो पाँच वर्षमा अमेरिकी उच्च अधिकारीबाट चीनमा भएको पनि यो पहिलो भ्रमण हो ।

उनी दुई दिनको व्यस्त भ्रमणका लागि आज बेइजिङ पुगेका हुन् । भ्रमणको क्रममा उनले यसअघिका विदेशमन्त्री वाङ यी र राष्ट्रपति सी जिनपिङसँग कुराकानी गर्ने जानकारी दिइएको छ । चिनियाँ समकक्षी छिङ काङसँग भने भेटवार्ता भइसकेकाे छ ।

पूर्वी एसियामा चीन र उत्तर कोरियाको सामरिक चुनौती सामना गर्ने उपायका रुपमा यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । अमेरिकाले आफ्ना त्रिपक्षीय गठबन्धनका साझेदार दक्षिण कोरिया र जापानलाई प्रतिरक्षा गर्ने प्रतिबद्धता जनाएको छ ।

अब आगामी महिना अमेरिकी अर्थमन्त्री जानेट येलेन र वाणिज्यमन्त्री जिना रायमोण्डोले चीन भ्रमण गर्ने बताइएको छ । सम्भवतः यो वर्षको अन्ततिर अमेरिकामा राष्ट्रपति जो बाइडेन र समकक्षी सिबीच पनि भेटवार्ता हुने भएकाले आवश्यक तयारी गरिएको बताइएकाे छ ।