खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म- सिसिएमसीका १३ सिफारिस

खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म- सिसिएमसीका १३ सिफारिस



काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ । मंगलबार बसेको सिसिएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि विद्यालय माघ १५ गतेसम्म बन्द गर्नु पर्ने लगायको निर्णय गरेको छ । सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले कतिपय विद्यालयमा हिउँदे बिदा पनि जारी रहेकाले त्यसलाई १५ माघसम्म लम्ब्याउने गरी निर्णय गरेको त्यसले संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने बताइन् । उनका अनुसार निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ ।

सीसीएमसीले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ । सीसीएमसीले राजनीतिक दललगायतलाई ठूलो संख्यामा भेला हुनेगरी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ । यस्तै, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने सीसीएमसीले निर्णय गरेको हो ।