प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्ने पक्राउ

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्ने पक्राउ



काठमाडौं । विद्यार्थीबाट कुटिएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए ।

सोमबार प्रहरीले अदालत परिसरभित्रबाट पक्राउ गरी चलाउनेसहित ६ जनालाई केही घण्टापछि छोडेको थियो ।

यता जिल्ला अदालत काठमाडौंले उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्विकार गरेको छ ।

न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा नचढाई निवेदन सोझै इजलासमा पेश भएको भन्दै त्यस्तो निवेदन सुनुवाई गर्न अस्विकार गरेको हो । न्यायाधीश श्रेष्ठले उक्त निवेदन पेशीमा चढाएर मात्रै पेश गर्न आदेश दिएका छन् ।

सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसबारे सोमबार निर्णय गरेको सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवेदन पेश गरेको थियो ।

अधिवक्ताहरु स्वागत नेपाल, राधिका चौलागाई लगायतले सरकारको निर्णय प्रक्रियासम्मत नभएको भन्दै मुद्दा फिर्ताको निवेदनमा अनुमती दिन नहुने माग गरे ।

उनीहरुको मागपछि इजलासले निवेदनको सुनुवाइ नै नगरी अर्को दिन पेशी तोक्न आदेश गरेको हो ।