नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा

नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन : जनार्दन शर्मा



काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा शर्माले अर्गानिक मल कारखानाको भने अवश्यकता रहेको बताए ।

उपलब्ध स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उनको भनाइ छ ।

उनले भने, “आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ । नेपालमा रासायनिक मल खारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधनहरुबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौँ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।”

उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोल्ड स्टोरहरू स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने बताए ।