सरकार र अदालत भारतको ‘गुलाम’ : मेयर बालेन

सरकार र अदालत भारतको ‘गुलाम’ : मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन् । देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बताएका छन् ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

बालेन सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ । म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ, यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइने छैन ।”

जानकी भारतकी छोरी हुन् भन्ने आसयको संवाद ‘आदिपुरुष’मा समावेश भएको भन्दै मेयर बालेनले उक्त संवाद सिनेमाबाट नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने बताएका थिए । उनले सिनेमा चल्न नदिने सामाजिक सञ्जालमा लेखेपछि उक्त सिनेमा काठमाडौंका हलमा चल्न सकेन । पोखरा महानगरपालिका र धरान उपमहानगर पालिकाका मेयरले पनि सिनेमा चल्न नदिने बताएका थिए ।

बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।