उपप्राध्यापक चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

उपप्राध्यापक चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको घटनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै सरकारको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनमा रोक लागेको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए । उनको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट लागेको थियो ।

त्यस घटनामा आक्रमणकारी नेविसंघका नेताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालत, काठमाडौंमा मुद्दा जारी रहेकै वेला सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

यसका विरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्च अदालत पुगेका हुन् । उनको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ । रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कारण पेश गर्नु भनिएको छ ।