सन्दीपविरुद्ध मुद्दा : पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अदालतको आदेश

सन्दीपविरुद्ध मुद्दा : पीडितलाई अन्तरिम क्षतिपूर्ति दिन अदालतको आदेश



काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।

पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिलभर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएको बताएकी थिइन् ।

पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो । उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्तीकरणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।

अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो ।

तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो । सोमबार मुद्दा अन्तिम चरणमा पुगेको र बाँकी विषय निर्णयबाट नै ठहरे बमोजिम हुने भन्दै उपचार खर्च पीडित राहत कोषबाट दिन आदेश गरेको हो ।

आरोपित लामिछानेका कानून व्यवसायीहरुले भने उनलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गरेका थिए ।