अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न बालेनलाई सर्वोच्चको आदेश

अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न बालेनलाई सर्वोच्चको आदेश



काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्छ ।

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध रिट निवेदन दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । तर, मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबीसहित अधिवक्ता झा सर्वोच्च पुगेकी थिइन् ।