कांग्रेस–एमाले गठबन्धन बन्न लागेको हो ?

कांग्रेस–एमाले गठबन्धन बन्न लागेको हो ?



संसदमा सत्तारुढ दल खुम्चिदै जानु र दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने हल्ला एक साथ चल्नुलाई राजनीतिक समीकरण परिवर्तनको संकेत हो कि भनेर चासोको रुपमा हेरिएको छ । राजनीतिमा सबै सम्भावना खुल्ला रहन्छन् । यसअघि दुई पटक संसदमा दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन बनाएर सरकार सञ्चालन गरेको नजिर छ । त्यसैले अहिले पनि सत्ता सञ्चालनमा कांग्रेस–एमाले गठबन्धन बन्यो भने त्यो अनौठो हुने होइन ।

अहिले संसदमा संख्यात्मक रुपमा राजनीतिक दलको जुन उपस्थिति छ त्यसले साना दलले ठूलो महत्वकांक्षा देखाएको जगजाहेर छ । सत्तामा संलग्न रहेका साना दलको महत्वकांक्षा देखेर कांग्रेस मात्र दिक्क छैन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत साना दलका नेता प्रधानमन्त्री बनेको हेर्न चाहेको छैन । सत्ता गठबन्धनको मुख्य दल कांग्रेसमा भएको यही दिग्दारीलाई एमालेले ‘क्यास’ गर्न चाहेको छ । सत्तामा पुग्ने लोभमा दुई ठूला दललाई मिलाउन ती दलका दोस्रो तहका नेताहरु ‘होमवर्क’ मा क्रियाशील रहेको बुझिन्छ ।

उदाउँदै गरेका नयाँ राजनीतिक शक्तिहरु यतिबेला ठूला दलका लागि टाउको दुखाइ बनेका छन् । ती नयाँ शक्तिहरुलाई रोक्न र साना दलहरुको ठूलो महत्वकांक्षालाई ‘साइज’ मा ल्याउन कांग्रेस–एमाले गठबन्धन बन्नु आवश्यक रहेको बुझाइ यी दलभित्र भेटिन्छ । एमालेले सत्ता संचालनमा स्थायित्वको एजेन्डा धेरै अगाडिदेखि उठाउँदै आएको हो । अहिले पनि एमालेले यसैमा प्रयत्न गरिरहेको छ । प्राध्यापक कृष्ण पोखरेल भन्छन् ‘यही एजेन्डामा टेकेर कांग्रेस–एमालेको गठबन्धन बन्न सक्छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहालपछि १० सिटे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्न खुट्टा उचालेर तयारी अवस्थामा छन् । प्राध्यापक पोखरेल भन्छन्, ‘लोकतन्त्रमा योभन्दा ठूलो उपहास के हुन्छ ? यस्तो प्रवृत्तिलाई नसम्हाल्ने हो भने जनतामा राजनीतिप्रति वितृष्णा अझ व्यापक बन्दै जानेछ । जसले उदाउँदो शक्तिलाई थप मलजल पुग्छ र ठूला दलको कद घट्छ ।’

कांग्रेस–एमालेको नयाँ समीकरण बन्ने हल्ला बाहिएसँगै सरकार र गठबन्धन भन्दा पनि एजेन्डा महत्वपूर्ण भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले सार्वजनिक रुपमा भनाइ राखे । उता, नेकपा माओवादीका सांसद माधव सापकोटाले तोकिएकै समयमा सत्ता कांग्रेसलाई हस्तान्तरण हुने भनाइ राखे । थापा र सापकोटाको यो अभिव्यक्ति आएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकार ढालेर पूँजीवादी कांग्रेसको नेतृत्वमा सरकार बनाउन एमाले अध्यक्ष केपी ओली सक्रिय रहेको अभिव्यक्ति दिए । यसको अर्थ भित्रभित्रै कांग्रेस–एमाले समीकरणको खिँचिडी पाक्दैछ भन्ने हो ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका बेला एमाले र कांग्रेसलाई मिलाउन दुवै दलका केही नेताहरु विभिन्न कोणबाट सक्रिय रहेका थिए । तर, कांग्रेस पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेस–एमालेको गठबन्धन बन्ने तत्काल कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा एमालेसँग भन्दा बढी माओवादीसँगको गठबन्धमा विश्वस्त छन् । देउवाको यही संकेतअनुसारको अभिव्यक्ति विश्वकर्माले दिएका हुन् । प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘कांग्रेस एमाले मिल्ने सम्भावना छँदैछैन । पार्टीभित्रका केही व्यक्तिलाई सत्तामा पुग्न हतार भएकाले यस्तो हल्ला चलाएको हो, यसमा कुनै सत्यता छैन ।’

प्रचार विभाग प्रमुख विश्वकर्माको यो अभिव्यक्ति सार्वजनिक भएसँगै कांग्रेस–एमाले मिल्ने हल्ला तत्काललाई सेलाएको छ । तत्काललाई सेलाएको त छ, तर फेरि नतात्ला भन्न सकिने अवस्था भने छैन । संसदमा सत्तारुढ गठबन्धन खुम्चिदै आएको छ । गत चैत ६ गते १ सय ७२ सांसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल कमजोर बन्दै गएका छन् । अहिले सरकारको समर्थनमा १ सय ४८ सांसदभन्दा बढी पुग्दैनन् । बजेट पास गर्दा यो दृश्य देखिसकिएको छ ।

सत्ता गठबन्धनको चार राजनीतिक दल नेकपा एकीकृत समाजवादी वा जनता समाजवादी पार्टीमध्ये एउटा मात्र बाहिरियो भने पनि नेकपा माओवादी नेतृत्वको दाहाल सरकार ढल्छ । अथवा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुवैले सरकार छाडे भने पनि यो सरकार ढल्छ । यहि जोखिमलाई हेरेर प्रधानमन्त्री प्रचण्डले हतारमा उपेन्द्र यादव, माधवकुमार नेपाल र नेन्त्रविक्रम चन्दलाई समेटेर समाजवादी मोर्चा बनाएका छन् । यद्यपी, कांग्रेस र एमालेको समीकरण बन्ने हो भने यो मोर्चाको औचित्य सकिने देखिन्छ ।

राजनीतिक दलहरुको मुख्य गन्तव्य भनेकै सत्ता हो । सत्ताका लागि अप्राकृतिक सम्झौतासमेत गर्दै आएका यी राजनीतिक दल जहिले जोसँग पनि मिल्ने सम्भावना छ । राजनीतिक स्थायित्वको लागि भन्दै सत्तारुढ गठबन्धनमा १२ सिट रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टी अथवा १० सिट रहेको माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीले कुनै पनि बेला दाहाल सरकार छाडे भने कुनै अनौठो नमाने हुन्छ ।

प्राध्यापक पोखरेलको विश्लेषण छ– यो अवस्थामा पनि कांग्रेस–एमाले मिलेनन् भने उदाउँदो नयाँ राजनीतिक शक्तिलाई फाइदा मात्र पुग्दैन, पुराना र ठूला भनिने राजनीतिक दलले आउँदा निर्वाचनमा ठूलै क्षति व्यहोर्नुपर्नेछ ।

तर, कांग्रेस–एमालेको समीकरण अहिले नै बनिहाल्छ र दाहालको सत्ता अहिले नै ढलिहाल्छ भन्ने वातावरण भने बनिसकेको छैन । राजनीतिका चतुर खेलाडी प्रचण्डले आफ्नो सत्ता टिकाउन अनेक हत्कण्डा गर्न सक्छन् । अहिले पनि ठूला भ्रष्टाचारका फाइल खोलेर सत्तारुढ गठबन्धनका सहयात्री दलदेखि प्रतिपक्ष दलहरुसम्मलाई तर्साउने काम गरिरहेकै छन् । आफूलाई सुरक्षित महसुस नगरेसम्म प्रधानमन्त्री दाहालले यो छडि प्रयोग गरिरहने देखिन्छ ।