नेपालले यूएईविरुद्व पहिले बलिङ गर्दै, टोलीमा तीन परिवर्तन

नेपालले यूएईविरुद्व पहिले बलिङ गर्दै, टोलीमा तीन परिवर्तन



काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपालले पहिले बलिङ ब्याटिङ गर्ने भएको छ ।

हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन् । नेपालले बलिङ रोजेपछि युएईले पहिला ब्याटिङ गर्दैछ ।

गत साता वेस्ट इन्डिजसँग भएको खेलमा रहेका ३ खेलाडी आजको खेलमा परिवर्तन भएका छन् । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद टिममा परेका छन् । कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थान तीव्र गतिका बलर प्रतिश जि.शीले लिएका छन् ।

यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो ।

यस खेलमा पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।

नेपालको प्लेईङ-११

अर्जुन साउद (विकेटकिपर) कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र प्रतिश जि.सी