काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश सांसदहरुले अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदेश सरकार गठनको सम्पूर्ण जिम्मेवारी सुम्पेका छन् । मध्यावधि निर्वाचनमा जाने अथवा नयाँ सरकार गठनका लागि समीकरण परिवर्तन गर्ने जिम्मा सांसदहरुले अध्यक्ष लिङ्देनलाई लगाएका हुन् । यो जिम्मेवारी सुम्पिन संसदीय दलका नेता भक्ति सिटौलासहितको टोली हिजो शनिबार लिङ्देन निवास झापा गोलधाप पुगेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकार गठनका लागि महत्वपूर्ण राजनीतिक शक्तिमा रुपान्तरण भएको छ । एमालेसँगको गठबन्धन त्यागेर राप्रपाले समीकरण बद्लियो भने नयाँ सरकार गठनको प्रकृया अगाडि बढ्नेछ । यदि उसले समीकरण बद्लेन भने कोशी प्रदेशसभा मध्यावधि निर्वाचनमा जानेछ ।
पार्टी अध्यक्षलाई भेट्न उनकै निवास गोलधाप पुगेको सांसद प्रेमराज थामसुहाङले ग्लोब नेपाललाई बताए । ‘थोरै समय कुराकानी भयो’, सांसद थामसुहाङले भने, ‘नयाँ सरकार गठनको प्रकृयामा अगाडि बढ्ने अथवा मध्यावधिमा जाने निर्णय लिने जिम्मेवारी हामीले अध्यक्षज्युलाई सुम्पिएर फर्कियौं ।’
अध्यक्ष लिङदेनले राजनीतिक दलसँग परामर्शपछि छिट्टै निर्णय लिने आश्वासन सांसदहरुलाई दिएका थिए । अहिलेको परिवेशमा मध्यावधिमा गइयो भने जनताले पुरस्कृत होइन, दण्डित गर्ने भएकाले सुझबुझपूर्ण निर्णय लिन सांसदहरुले अध्यक्ष लिङदेनलाई आग्रह गरेको बुझिएको छ ।
यदि राप्रपाले मध्यावधि निर्वाचनमा नजाने निर्णय लियो भने कोशी प्रदेशमा एमालेबाहेकको सरकार गठन हुनेछ । कांग्रेस र माओवादीले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । प्रदेशसभामा ४० सिट जितेको एमाले पहिलो दल हो भने, नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३), राप्रपा (६), नेकपा एकीकृत (समाजवादी) ४ र जनता समाजवादी पार्टीको (१) सिट छ ।
कोशी प्रदेश सरकार गठनका लागि केन्द्रीय तहमा पनि अनौपचारिक छलफल सुरु भएको छ । समाचारअनुसार कांग्रेस, माओवादी र राप्रपाबीच आफूलाई केन्द्रित राखेर छिट्टै औपचारिक छलफल चलाइने बताइएको छ ।


प्रतिक्रिया