काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तेस्रो पटक नेपाल आउँदै छन् । समाचार स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने छन् । तर, अहिलेसम्म मिति तय भएको छैन । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् ।
‘अलिक अगाडिदेखि नै उहाँ आउने तयारी हो । अहिलेसम्म जुलाईभित्र आउने निश्चित भए पनि बाँकी धेरै कुरा तयारीकै चरणमा छ,’ समाचार स्रोतले भन्यो ।
लू अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा उनी पनि नेपाल आइपुगेका थिए ।
त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बाट पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आएका थिए ।


प्रतिक्रिया