प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना

प्रहरी परिसरभित्रै प्रहरीलाई नै हातखुट्टा बाँधेर यातना



सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका- ८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो । 

रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा प्रहरी जवान राय भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको छ । उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्सी खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस् । मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’ भन्ने सम्वाद सुनिन्छ । 

भिडियो सम्वादमा रहेको भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्की हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदै गरेको सुनिन्छ । प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस् बरु मारिदिनुस्’ भनेका छन् । सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ । ‘मुस्कानसहितको सेवा’ दिने प्रहरी आफैँले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारले प्रहरीमाथि थप प्रश्न उठेको छ । 

निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफ्ना कमाण्डर इन्सपेक्टर राईकामा पुगेका बखत प्रहरी जवान रायलाई इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ । इन्स्पेक्टर राईले गालीगलौज गरेपछि आक्रोसित  प्रहरी जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएकाे छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।

सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातना दिने व्यक्तिको बचाउ गरे । उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए । 

डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताए । यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए । 

आज जिल्ला प्रहरी कार्यालय सिरहाको  नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरेको बताए । उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानविन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ ।’