नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नक्कली शरणार्थी प्रकरणमा थप एक जना पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले केशव तुलाधरलाई पक्राउ गरेको हो ।

जाहेरवाला गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेका तुलाधरलाई राजधानीको सानो भर्‍याङबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।

उनलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । काठमाडौंको असन स्थायी ठेगाना भएका तुलाधर पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

यसअघि पक्राउ परेका १८ मध्ये काठमाडौं जिल्ला अदालतले दुईलाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो । यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

अदालतको आदेशमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेका छन् ।