अवैध सुन आयातमा मेरो संलग्नता छैन : दीपक मलहोत्रा

अवैध सुन आयातमा मेरो संलग्नता छैन : दीपक मलहोत्रा



काठमाडौं । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक सय किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन आयातमा नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो संलग्नता नरहेको बताएका हुन् । 

उक्त सुन आयातमा आफ्नो व्यवसायिक प्रतिष्ठान वा व्यक्तिगत सम्बन्ध नरहेको बताउँदै उनले आफ्नो व्यवसायिक तथा व्यक्तिगत चरित्र हत्या गर्न खोजिएकाले कानुनी बाटोमा जाने बताए । 

किन र केका लागि आफ्नो नाम जोडेर समाचार आएको हो यसबारे थाहा हुन नसकेको भन्दै उनले आफूलाई समाचार बनाउने विषयमा सम्पर्क हुन नसकेको भन्ने कुरा गलत रहेको बताए । 

अवैध कारोबारीलाई जोगाउन आफ्नो नाम लिएर डाइभर्ट गरेको हुन सक्ने भन्दै व्यवसायी मलहोत्राले कुनै पनि अवैध कारोबारमा आफ्नो संलग्नता नरहेको दाबी गरे ।