मुलुकलाई भीमसेन थापाकाे ठूलो गुन छ : कार्यवाहक प्रधानमन्त्री खड्का

मुलुकलाई भीमसेन थापाकाे ठूलो गुन छ : कार्यवाहक प्रधानमन्त्री खड्का



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाएको उल्लेख गरेका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गरे ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भने, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”

पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गरेकाे उनले बताए । “परिस्थितिवस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो”, कार्यवाहक प्रधानमन्त्री खड्काले भने ।

तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गरेकाे, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गरेकाे, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गरेकाे उनले स्मरण गरे ।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उनकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गरेकाे कार्य प्रेरणाको स्रोत भएको बताए ।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरु प्रेरित भएको सुनाए ।

ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गरेकाे योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले यसबाट वर्तमान सरकार पे्ररित रहेको बताए । “दुभाग्यबस उहाँ सत्ता षडयन्त्रको शिकार हुनुभयो, झुटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो”, कावा प्रधानमन्त्रीले भने ।

भीमसेन थापाको सच्चा सम्मानका लागि उनले देखेका सपना पूरा गर्न सकेन र राष्ट्रियता सुशासन र आर्थिक सामाजिक रुपान्तरणका पक्षमा अहोरात्र खटियौँ भने मात्र उनीप्रति सच्च श्रद्धाञ्जलि हुने कावा प्रधानमन्त्री खड्काले थापाको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार एक सय ११ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिभेश्वरप्रसाद तिमिल्सिना, सम्मानित संस्था केन्द्रका संस्थापक डा महावीर पुन, प्रतिष्ठानका सचिव लक्ष्मण थापालगायतले भीमसेन थापाको योगदानबारे चर्चा गरेका थिए ।