९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान

९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान



काठमाडौं । नेपाली र नर्वेजियन आरोहीले ९२ औं दिनमा विश्वका ८ हजार अग्ला १४ हिमाल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका छन् । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् ।

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर) को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु तीन महिनामा सफल आरोहण गरेकाे कम्पनीको भनाइ छ । उनीहरुले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेका थिए ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।

विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् ।