बेनी । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी–दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैं सास्ती हुने गरेको छ ।
सामान्य वर्षा हुँदा पनि सडकमाथिबाट पहिरो खस्ने र सडक तलको जमिन लच्किने समस्याले यी २ सडकमा यात्रा गर्ने यात्रु र चल्ने सवारीसाधन सधैं जोखिममा पर्ने गरेका छन् ।
१२ वर्षअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइ र कच्ची भूगोलका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको हो । ७६ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि लम्बिँदा पनि समस्या उत्पन्न भएको यातायात व्यवसायीको गुनासो छ ।
कालोपत्र गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका वासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती हुने गरेको छ । साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
विभिन्न ठाउँमा पहिरो खसेर दैनिक ३–४ पटक सडक अवरुद्ध हुन्छ । घण्टौंसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्, ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नुपरेको यात्रुको गुनासो छ ।
सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ । दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिराको जोखिममा परेको छ । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक टेकबहादुर हर्मेलले बताए । ‘जीर्ण र पहिरोको जोखिमयुक्त सडकमा गाडी चलाउन जोखिम र सास्ती छ,’ उनले भने, ‘सामान्य अवस्था भए बेनीबाट ४ घण्टा लाग्ने सडकमा वर्षामा त २ दिनसम्म लाग्ने गर्छ ।’
म्याग्दीको गलेश्वरबाट मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिए । ‘यात्रु र गाडीको चाप बढे पनि सडकको अवस्था बेहाल छ,’ उनले भने । विक्रम संवत् २०७४ असारमा ४ वटा प्याकेज (भाग) मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले २ अर्ब ५० करोडमा ठेक्का लिएका थिए ।
गत शुक्रवारदेखि बेनी–जोमसोम सडकका विभिन्न खण्डमा पहिरो गएपछि यात्रु र यातायात व्यवसायीलाई समस्या भएको छ । म्याग्दीको वैंसरीबाट मुस्ताङको लेतेसम्म ७ ठाउँमा पहिरो गएकाले यातायातका साधन अवरुद्ध हुने गरेका यातायात व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया