एनआरएनए अध्यक्ष पदमा मेरो उम्मेदवारी पुनः रहन्छः डा. बद्री केसी

एनआरएनए अध्यक्ष पदमा मेरो उम्मेदवारी पुनः रहन्छः डा. बद्री केसी


ग्लोब नेपाल
135
Shares

मस्को ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा. बद्री केसीले  पुनः उम्मेदवारी दिने  बताएका छन् ।  उनी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुन् ।

‘वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो । त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु । त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रीत भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छुु’ डा. केसीले भने ।
 
उनले गैरआवासीय नेपाली संघको जुलाई महिनामा सम्पन्न राष्ट्रिय समितिको निर्वाचन निकै उत्साहजनक र विवाद रहित प्रति सन्तोष व्यक्त गर्दै भने ‘मुख्य जिम्मेवारी विवाद व्यवस्थापनको थियो ५८ देशमा नयाँ कार्यसमिति गठन हुँदा एउटा देशमा पनि विवाद भएन । अब एनआरएनएमा जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा छु ।’
 
उनले गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दावी रहने उनले बताए । डा. केसीले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले अब संस्थाको नेतृत्वमा युवा महिला र बैद्धिक व्यक्तित्वले अवसर पाउनु पर्नेमा जोड दिए ।
 
सन्  २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । सन्  २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ –२०१५ मा भने कोषाध्यक्ष चयन भए ।
 
त्यसपछि सन्   २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन् ।  बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
 
संघको १० औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा. केसीले ११ औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धता सहित तीन अध्यक्ष मध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी भएका थिए ।
 
डा. केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रुपमा सम्पन्न भएको छ । संघको अक्टोवरमा हुने ११ औं महाधिवेसनको लागि सम्पूर्ण तयारीहरु सुरु भएका छन् । नयां नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन भएको छ ।